बालबालिकालाई हाँडे रोगबाट जोगाउन के गर्ने ?

हाँडे रोगलाई गल्फुलो वा मम्पस पनि भनिन्छ । यो पारमिक्जो भाइरसबाट सर्ने संक्रमण हो । यो भाइरसको संक्रमण विशेषगरी बालबालिकामा बढी देखिने गरेको छ । कानको फेदमा अर्थात् च्यापुका दुवैपट्टि वा एकापट्टि मात्र सुन्निनुलाई हाँडे भनिन्छ ।

कसरी हुन्छ ?
हाम्रो दुवै गालाको तल्लो भागमा प्यारोटिड ग्रन्थि रहेको हुन्छ । मम्पस भाइरसको संक्रमणका कारण उक्त ग्रन्थि सुन्निने र दुख्ने हुन्छ, जसलाई हामी हाँडे भन्छौँ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ ।

सतर्कता 
सरुवा रोग भएकाले यसबाट बच्न विशेष सतर्क हुनुपर्छ । यो रोग लागेका मानिले सास फेर्दा, खोक्दा वा हाच्छ्युँ गर्दा हावाका माध्यमबाट अन्य व्यक्तिमा सीधै मम्पस भाइरस सर्न सक्छ ।

बिरामीसँगको सम्पर्कबाट सीधै मम्पस भाइरस सर्ने गर्दछ । भाइरसको संक्रमण भएको केही दिनपछि मात्रै यो रोगका लक्षण देखा पर्छन् । तर, संक्रमण भएर लक्षण नदेखिएका व्यक्तिबाट पनि यो रोग अन्यलाई सर्न सक्छ । मुख्यतः यो रोग दुईदेखि १२ वर्षमुनिका बालबालिकामा देखिने सम्भावना धेरै हुन्छ ।

लक्षण
– ज्वरो आउने, टाउको दुख्ने
– रुघा/खोकी लाग्नु
– हाडजोर्नी दुख्नु
– थकान महसुस हुनु
– शरीर दुख्नु
– खान मन नलाग्नु
– गालाको एकातिरको वा दुवैतिरको प्यारोटिड ग्रन्थि सुन्निने र दुख्ने, कान दुख्ने
– बोल्ने वेलामा समेत अप्ठ्यारो महसुस हुने
– खाना चपाउन अप्ठ्यारो हुने
– चिउँडो/गालाको एकातिर वा दुवैतिर सुन्निनु वा दुख्नु
– थप यस्ता जटिलता आउन सक्छन्
– अचेत हुने, बेहोस हुने
– धेरै पेट दुख्ने र बान्ता हुने
– अण्डकोष सुन्निने
– कान दुख्ने वा सुन्ने क्षमता कमजोर हुने

के गर्ने ?
– ज्वरो आउने, टाउको दुख्ने, खाना चपाउन गाह्रो हुनेलगायत लक्षण देखिएपछि चिकित्सकसँग परामर्श गर्ने र औषधि उपचार थाल्ने ।
– मनतातो पानीमा नुन राखेर कुला गर्ने ।
– चिसो खानेकुरा नखाने ।
– चपाउने, साह्रो खानेकुरा नखाने, झोलिलो खानेकुरा खाने ।
– आराम गर्ने ।
– सरसफाइमा ध्यान दिने ।
– हाँडे रोगबाट संक्रमित बालबालिकालाई विद्यालय नपठाउने ।
– थप समस्या देखिएका चिकित्सकको सल्लाहबमोजिम औषधि उपचार गर्ने ।

रोकथाम र उपचार 
– समुदाय तथा विद्यालयमा धेरैजनामा हाँडे देखिएमा यस रोगविरुद्धको खोप लगाउन सकिन्छ । यस खोप एक महिनाको फरकमा दुई डोज लगाइन्छ । लक्षण देखिसकेपछि बिरामी अन्य व्यक्तिको सम्पर्कमा जानुहुँदैन ।
– व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । साबुनपानीले हात धुनुपर्छ । हाँडेका लक्षण देखिएको शंका लागेमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।